एयर इन्डिया दुर्घटनापछि भारतमा बोइङ विमानका इन्धन स्विचको जाँच सुरु
नयाँ दिल्ली,असार ३१— गत महिना एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटनामा २६० जनाको मृत्यु भएपछि भारत सरकारले आफ्ना एयरलाइन्सलाई इन्धन स्विचको जाँच गर्न निर्देशन दिएको छ।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उडानपछि इन्धन स्विच रन पोजिसनबाट कटअफमा गएको देखिएको छ। दुर्घटनामा एक पाइलटले इन्धन किन कट गरियो भनेर सोधेको र अर्का पाइलटले आफूले नगरेको जवाफ दिएको उल्लेख गरिएको छ।
भारतको नागरिक उड्डयन महानिर्देशालय (DGCA) ले बोइङ ७८७ र ७३७ सहितका मोडेलमा स्विच लक प्रणालीको निरीक्षण गर्न सबै एयरलाइन्सलाई आदेश दिएको छ। अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेशनले यसअघि नै यस्ता लकहरू सुरक्षित ढंगले काम गरिरहेको सुनिश्चित गर्न सिफारिस गरेको थियो।
भारतले जुलाई २१ भित्र सबै प्रभावित विमानको निरीक्षण सक्नुपर्ने बताएको छ। एयर इन्डियाका सीईओ क्याम्पबेल विल्सनले अनुसन्धान जारी रहेको भन्दै समयअघि निष्कर्ष निकाल्न नहुने बताएका छन्।

