३१ विद्यालयका प्रधानाध्यापकको सामूहिक राजीनामा
बर्दिबाव,असार ३१— आर्थिक वर्षको अन्त्यसम्म पनि शैक्षिक अनुदान निकासा नभएको भन्दै गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन्।
मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा दिवा खाजा, पाठ्यपुस्तक, सशर्त, पूँजीगत तथा अन्य शैक्षिक अनुदान शीर्षकका रकम पटक–पटक अनुरोध गर्दा पनि निकासा नहुँदा विद्यालय सञ्चालनमा समस्या परेको उल्लेख गरिएको छ।
सरस्वती मावि भण्टाबारीमा बसेको बैठकले सामूहिक राजीनामाको निर्णय गरेपछि प्रधानाध्यापकहरूले प्रशासन शाखा प्रमुख मिश्रीलाल यादवलाई पत्र बुझाएका हुन्। प्रमुख कार्यकारी अधिकृत र शिक्षा शाखा प्रमुख उपस्थित नभएकाले उनीहरूलाई भेट हुन सकेन।
शिक्षकहरूका अनुसार अनुदान नपाउँदा तीन महिनादेखि दिवा खाजा खर्च, भवन निर्माण, शैक्षिक सामग्री लगायतका शीर्षकमा विद्यालयहरू आर्थिक संकटमा छन्। प्रधानाध्यापकहरूले तत्काल रोकिएका रकम निकासाको माग गरेका छन्।

