मधेशमा वर्षा सुरु, धान रोपाइँमा राहतको संकेत



काठमाडौं,असार ३२— लामो खडेरीपछि नेपालका अन्न भण्डार मानिने मधेश प्रदेशमा वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार रातिदेखि मधेशको आकाशमा बादल देखिन थालेसँगै वर्षा सुरु भएको हो।

वर्षा नहुँदा खेतमा लगाइएका धानका बिउहरू सुक्न थालेका थिए भने अहिले वर्षा सुरु भएकाले किसानले राहतको अनुभूति गर्न थालेका छन्। मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबारदेखि मधेशमा वर्षा अझ व्यापक हुने अनुमान छ।

मधेशमा हालसम्म ३३.७८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष असार मसान्तसम्म ६१.५ प्रतिशत रोपाइँ भएको थियो। देशभर हालसम्म ५९ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि तथ्याङ्कले देखाएको छ।

कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार वर्षाले धान रोपाइँमा राहत दिए पनि अत्यधिक पानीले खेतमा डुबान, पोषण तत्त्व बगाउने, आली भत्काउनेजस्ता जोखिमसमेत रहन सक्ने भएकाले सतर्क रहन सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस्