मेलम्ची अझै बाढीको त्रासमा, पुनर्निर्माण सुस्त
मेलम्ची, असार ३२ — विक्रम संवत २०७८ को विनाशकारी बाढीले थिलथिलो पारेको मेलम्ची बजार अझै पूरै पुनर्निर्माण हुन सकेको छैन। बाढीले बगाएका घर, पुल र पूर्वाधारको छायाँबाट स्थानीय अझै नउम्किएको गुनासो गर्छन्।
बाढीपछि मेलम्ची नदीको धार परिवर्तन भई बजारको ठूलो भाग बगाएको थियो। अहिले पनि धेरै घर खोलाभित्र धसिएका छन्। हेलम्बु जाने पुल अझै बनेको छैन, जसका कारण वारिपारि आवतजावत गर्न घण्टौं लाग्ने गरेको मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए।
२०७८ असार १ गते हिमपहिरोबाट उत्पन्न लेदो बाढीले मेलम्ची र इन्द्रावती खोलामा विनाश मच्चाएको थियो। २५ जना बेपत्ता भएका मध्ये पाँच जनाको मात्र शव भेटिएको थियो।
स्थानीय व्यवसायीहरू बचेखुचेको संरचनाबाट बाँच्ने संघर्षमा छन्। बारम्बार बाढी आउने डरले पुनर्निर्माणको प्रयासमा अवरोध भइरहेको उनीहरूको भनाइ छ।
नगरपालिकाले जलवायुजन्य विपद् न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली बलियो बनाउन र नागरिकलाई सचेत बनाउन काम थालेको बताइएको छ।

