गणपूरक सङ्ख्या अपुग भएपछि पानीजहाज विधेयकमा निर्णय स्थगित, वित्त परिचालन विधेयक स्वीकृत
काठमाडौं,असार ३२ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभामा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक संशोधन प्रस्ताव निर्णयका लागि पेस गर्ने कार्यसूची रोकिएको छ। सैद्धान्तिक छलफल र मन्त्रीको जवाफपछि नेकपा (माओवादी केन्द्र) की सचेतक रूपा सोसी चौधरीले गणपूरक यकिनको माग गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूची स्थगन गरे ।
संसद् सचिवालयका अनुसार मंगलबार २०३ सांसदको हाजिरी भए पनि यकिनको क्रममा अन्तिम समयमा ६१ जना मात्र उपस्थित थिए। संवैधानिक प्रावधानअनुसार निर्णय प्रक्रियाका लागि कम्तीमा एक चौथाइ, अर्थात् ६९ जना सांसदको उपस्थिति अनिवार्य हुन्छ। बहिष्कारमा रहेका रास्वपा र राप्रपाका सांसदसमेत हाजिर गनिएका थिए।
त्यसअघि प्रतिनिधि सभाले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रस्तावमा वैकल्पिक वित्त परिचालन विधेयक संशोधन दर्ताका लागि स्वीकृत गरेको छ। अब सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्न पाउनेछन्। संशोधनपछि दफावार छलफल हुनेछ र अन्ततः विधेयक पारित गरिनेछ।
विधेयकले पूर्वाधार परियोजनाको प्राथमिकीकरण, ऋणपत्र, स्वपुँजी कोषलगायतका व्यवस्थासहित वैकल्पिक वित्त परिचालनका लागि स्वायत्त कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित कोषको अधिकृत पुँजी १ खर्ब र चुक्ता पुँजी २५ अर्ब हुनेछ। सो कोषमा नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व रहने छ।
यसैबीच, प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग साउन ७ गते प्रश्नोत्तर सत्र तय गरिएको छ। अस्वस्थता र रास्वपाको अवरोधका कारण दुई पटक स्थगित भएको प्रश्नोत्तरका लागि साउन २ गतेसम्म प्रश्न दर्ता गर्न सकिने सभामुख घिमिरेले जानकारी दिएका छन् ।

