नुवाकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
नुवाकोट,असार ३२ । नुवाकोट जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त जिल्ला घोषित गरिएको छ। विदुरमा आयोजित विशेष समारोहमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले १२ वटा स्थानीय तह रहेको नुवाकोटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे।
कार्यक्रममा बोल्दै ठकुरीले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण तथा प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
१६ देखि २३ महिनासम्मका उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप १५ महिनाभित्र लगाएको प्रमाणित भएसँगै नुवाकोटले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो।
यसअघि जिल्लाका सबै १२ वटा स्थानीय तहहरू पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका थिए। जिल्ला अन्तर्गत रहेका ८८ वडाका ४ हजार ५७७ जना बालबालिकाले आवश्यक सबै खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

