सरकारलाई जसपाको समर्थन फिर्ता
काठमाडौं,असार ३२ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
यसअघि पार्टीको केन्द्रीय कार्यकारिणी समितिले सरकारबाट समर्थन फिर्ता लिने निर्णयका लागि संसदीय दललाई निर्देशन दिएको थियो। सोही अनुसार बैठकबाट औपचारिक रूपमा समर्थन फिर्ताको निर्णय गरिएको हो।
पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारको एक वर्षको कामकाज जनअपेक्षा अनुसार नदेखिएको भन्दै समर्थन फिर्ता गरिएको बताए । यसअघि सत्तारुढ दलहरूले जसपालाई सरकारमा सहभागी गराउने प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेको थिएन।

