दोलखामा पहिरोले एकको ज्यान गयो, दुई गम्भीर घाइते
दोलखा,असार ३२ — दोलखाको विगु गाउँपालिका–१ हुरहुरेमा पहिरोमा परी एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
सानिमा हाईड्रो जाने सडकको सर्भे गर्ने क्रममा माथिबाट आएको पहिरोमा परी नुवाकोट विदुर नगरपालिका–४ का २९ वर्षीय सुनिल न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा मृत्यु भएको हो।
सोही पहिरोमा परी रामेछाप लिखु तामाकोसी गाउँपालिका–४ का विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का सन्दीप चौलागाईं गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
तीनै जना सानिमा हाईड्रो कम्पनीका कर्मचारी रहेको जनाइएको छ। उद्धारपछि घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो। चीनसँग सिमाना जोडिएको लप्ची नजिकै सानिमा हाईड्रोको जलविद्युत् परियोजना निर्माण भइरहेका बेला उक्त दुर्घटना भएको हो।

