बाढीले क्षति गरेको आठौं दिनसमेत खुलेन त्रिदेशिय मार्ग



• देवचन्द्र भट्ट

नुवाकोट,साउन १ । चीनको तिव्वत हुँदै आएको लेन्देखोलाको विनासकारी बाढी गएको आठौं दिनमा पनि त्रिदेशिय मार्ग खुल्न सकेको छैन् । पहिरोले कटान गर्नुका साथै पहिरोले बगाएको उक्त मार्ग अन्तर्गतको स्याफ्रुबेँसी–टिमुरे–रसुवागढी खण्डको ट्रयाक खुल्ने कार्य बाँकी रहेकाले सडक पुनर्निर्माण हुन सकेको छैन् ।

बाढीले क्षति गरेको त्रिदेशिय मार्गको पुनर्निर्माण तथा मर्मतका लागि रसुवागढीतर्फको टिमुरे र स्याफ्रुवेशीतर्फको लिङलिङमा हेभि इक्युपमेण्टहरु परिचालन गरिएको छ । लेन्देखोलामा यहि असार २४ गते मंगलवार आएको बाढीले पुल, सडक, जलविद्युत, यातायातका साधन तथा भौतिक संरचनासमेत गरि अर्बौंको क्षति गरेको थियो ।

बाढीले वेपत्ता बनाएको २० जनामध्ये १९ जना अहिलेसम्म बेपत्ता नै रहेका छन् । तीन प्रहरी, ६ जना चिनीया, नेपाली चालक तथा कमदारसमेत गरि २० जना बाढीमा हराइरहेकोमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेर सनाखतसमेत भइसकेको छ ।

बाढीले क्षति गरेको स्याफ्रुबेँसी–टिमुरे–रसुवागढी खण्डको ट्रयाक खुल्ने कार्य अन्तिम चरणमा पुगेको छ । उक्त सडकमार्गको पुनर्निर्माण तथा मर्मत कार्य करिब ९८ प्रतिशत सम्पन्न भएको छ । गोसाइकुण्ड गापा २ लिङलिङमा सडकको ट्रयाक वनाउन समस्या भइरहेको छ ।

उक्त स्थानमा डोजर गएर नयाँ ट्रयाक बनाउन बाँकी रहेको प्राविधिकहरुले बताए । दुवै स्थानमा गरि तीन थान डोजर तथा स्काभेटर परिचालन गरिएको छ । पहिरो आएर हेभि इक्युपमेण्टलाई समेत तीव्र गतिमा बाटो बनाउन समस्या परिरहेको छ ।

स्याफ्रुवेशीको रोङ्गादेखि चार घण्टा लगाएर पैदल टिमुरे पुगिएको र बाटो खुल्न अझै केहि दिन लाग्ने चालक जयराम रिमालले बताए । उनका अनुसार सडकको नयाँ ट्रयाक खोल्ने कार्य जोखिमपुर्ण देखिएको छ ।

बाढीले कटान गरेको र पहिराले वगाएको स्थानमा नयाँ ट्रयाक खोल्ने कार्यका लागि डोजरले बाटो पहिचान गर्न बाँकी रहेको स्थानीयको भनाई छ ।

उक्त सडकमार्ग पुर्ननिर्माण तथा मर्मत गर्न ठूला उपकरणसहित प्राविधिक, सेना, प्रहरी तथा सशस्त्र प्रहरी, सम्वन्धित पक्षका कर्मचारी खटिरहेका छन् । दैनिक रुपमा बेपत्ताको खोज तथा उद्धारमासमेत सुरक्षाकर्मी खटिएको रसुवा प्रशासनले जनाएको छ ।

अकल्पनिय बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १२ किलोमिटर सडकमार्गको १२ स्थानमा सडक ध्वस्त पारेकोमा अब अनितम विन्दु मात्र सडक पुर्ननिर्माण गर्न बाँफ रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

बाढीले क्षति गरेको लेन्देखोलामाथि नेपाल–चीन जोड्ने पक्कि पुलसमेत वगाएपछि चीनले उक्त स्थान सफा गरिरहेको छ । बाढी र पहिरोले उक्त सडकको अधिकांश भाग क्षति भएपछि सरोकारवाला निकायसमेतको सहयोग र सहकार्यमा सडक पुनर्निर्माण र मर्मतको कामले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीको भनाई छ ।

यसैबीच बाढीका कारण चीनतर्फ सुरक्षित व्यवस्थापन गरि राखिएका नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ । नाकामा ठूलो नदीमा पुल नै नहुँदा समस्या परेको छ ।

चीनतर्फ रहेका विपद् प्रभावित एकसय नेपाली नागरिकहरुलाई सम्बन्धित निकायहरुको समन्वयमा चीनको केरुङ्गमा सुरक्षितकासाथ बस्न र खानाको व्यवस्था मिलाईएको छ । कतिपयलाई सुरक्षित रुपमा नेपाल फर्काउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्