बिपी राजमार्गमा रातिको सवारी आवागमन रोकियो, मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै प्रशासनको निर्णय
काभ्रे, साउन १ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आजदेखि रातिको समयमा यात्रुबाहक सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रे प्रशासनले नेपालथोकदेखि काभ्रेभञ्ज्याङसम्मको सडक खण्डमा साउन १ गतेदेखि एक महिनासम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाएको हो।
काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायसहितको सुरक्षा समितिको बैठकले मनसुन सक्रिय रहेकाले संभावित पहिरो, लेदो तथा अन्य विपद्का जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको हो। यसअघि असार ६ गते सिन्धुलीको मुलकोटमा बसेको समन्वय बैठकले असार ७ गतेदेखि असार मसान्तसम्म सवारी चलाउन रोक लगाउने निर्णय गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुबेदीका अनुसार यात्रुबाहक सवारीसाधनलाई मात्रै रोक लगाइएको हो भने मालबाहक सवारी साधनलाई भने यथावत सञ्चालन गर्न दिइनेछ।
“मनसुनजन्य जोखिमका कारण हामीले यात्रुबाहक सवारी रातिमा चल्न नदिने निर्णय गरेका हौं,” – सुबेदीले भने ।
“अब यात्रुबाहक सवारीले सिन्धुलीको खुर्कोटबाट साँझ ५ बजेभित्रै काभ्रेतर्फ प्रस्थान गर्नुपर्नेछ, अन्यथा सवारी खुर्कोटमै रोकिनेछ,” उनले स्पष्ट पारे ।
गत वर्ष असोजमा परेको भारी वर्षाले सिन्धुलीको बर्खेखोलादेखि काभ्रेको चौकीडाँडासम्मको करिब ८ किलोमिटर सडक खण्डमा ठुलो क्षति पुर्याएको थियो। त्यसपछि केही भागमा सडक बग्दा अस्थायी रुपमा वैकल्पिक बाटो प्रयोग गर्दै यातायात चलाइँदै आएको छ। पहिरो र बाढीले ठाउँठाउँमा राजमार्ग बारम्बार अवरुद्ध भइरहेकाले उद्धार तथा राहत कार्यमा कठिनाइ भएको भन्दै रातिको सवारीमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ।
प्रहरीका अनुसार, बाढीले क्षति पुर्याएको खुर्कोट–काभ्रे खण्ड पार गर्न झन्डै तीन घण्टा लाग्ने भएकाले पाँच बजेपछि त्यस मार्गमा यात्रा गर्दा राति गहिरो जोखिम हुने खतरा रहेको छ।
प्रशासनले यात्रु र सवारी चालकहरूलाई निर्देशित समयपालना गर्न आग्रह गर्दै सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ।

