बाढीले केरुङमा फसेका नेपालीलाई तातोपानी नाकाबाट ल्याउने तयारी
रसुवा,साउन १ । असार २४ गते चीनको लेन्देखोलाबाट आएको बाढीले चीन र नेपालको सिमानामा रहेको मितेरी पुल बगाएपछि चीनतर्फ फसेका नेपालीहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने प्रयास भई रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार केरुङमा कामका लागि गएका चालक तथा सहचालक सहितका अन्य नेपालीहरुलाई स्वदेश ल्याउनका लागि चीनीयाँ पक्षसँग पहल भईरहेको बताए ।
नेपाल चीनको सिमानामा रहेको मितेरी पुल निर्माण गर्न केही समय लाग्ने भएपछि चीनतर्फ फसेका नेपालीहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।
नेपाल तर्फबाट चीनीयाँ पक्षलाई बाढीमा फसेकाहरुको नामाबली पठाई सकेकाले उनीहरुले तातोपानी नाकाबाट नेपाल ल्याउने गरी काम गरिरहेको चीनीयाँ पक्षले जानकारी गराएको उनको भनाई छ ।
केरुङमा फसेका नेपाली कन्टेनर चालक बद्री आचार्यका अनुसार बाढीको समयमा रसुवागढी नाका बाट चीनीयाँ पक्षले ३५ जना नेपालीहरुको उद्घार गरी केरुङ पुर्याई होटलमा राखेको छ ।
चालक आचार्यले केरुङमा थप करिब दुई सयका हाराहारीमा चालक र सहचालका फसिरहेको बताए । कतिपय कामदारहरुको नियमित खाने औषधि सकिएको छ भने कतिपयको पैसा सकिएर बेखर्चि भएको बताईएको छ ।

