तराईमा खडेरीले रोपाईं प्रभावित, हालसम्म ३६ प्रतिशत मात्र धान रोपाईं



सिरहा,साउन २ । मधेस प्रदेशमा खडेरीको चपेटाले धान रोपाईंमा गम्भीर असर पारेको छ । असार महिना सकिँदासम्म प्रदेशभर जम्मा ३६ प्रतिशत मात्र धान रोपाईं सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा सम्पन्न ६१ प्रतिशत रोपाईंको तुलनामा उल्लेखनीय कमी हो ।

लगातार वर्षा नहुँदा खेत सुक्खा छन्, जसले रोपाईंमा ढिलाइ गराएको हो । धनुषा, सर्लाही, सिरहा, महोत्तरी लगायतका जिल्लामा पानीको स्रोत सुकेपछि किसान गहिरो संकटमा छन् । न त पर्याप्त सिंचाइ सुविधा छ, न त वैकल्पिक उपाय अपनाइएको छ । बोरिङबाट पानी निकाल्ने प्रयास पनि सफल हुन सकेको छैन ।

मधेस प्रदेश सरकारले संकटको गम्भीरता बुझ्दै प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । साथै, खानेपानीको चरम अभाव भएका बारा र पर्सा लगायतका जिल्लामा राहतस्वरूप १६ वटा वारुणयन्त्र (फायर ब्रिगेड) स्थानीय तहमा पठाइएको प्रदेश सरकारद्वारा जानकारी दिइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार, समयमै राहत तथा दीर्घकालीन समाधान नहुँदा कृषि मात्र होइन, आम जनजीवन र खाद्य सुरक्षामा पनि ठूलो संकट आउन सक्ने खतरा छ ।

मधेस नेपालको अन्न भण्डारका रूपमा चिनिन्छ । तर, हालको खडेरीले उत्पादनमा भारी गिरावट ल्याउने संकेत देखिँदैछ, जसले राष्ट्रिय स्तरमै खाद्य संकट निम्त्याउने सम्भावना बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्