एमाले पोलिटब्युरो बैठक सुरु, विधान महाधिवेशनका प्रस्तावमा छलफल
काठमाडौं,साउन २ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न दोस्रो विधान महाधिवेशनका प्रस्तावहरूबारे छलफल गर्न पोलिटब्युरो बैठक सुरु भएको छ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैठक सुरु भएको हो।
बैठकमा विधान संशोधनलगायतका प्रस्तावहरूबारे गहन छलफल भइरहेको बताइएको छ। पार्टी सचिवालय बैठकबाट तयार पारिएका प्रस्तावहरू यही साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ।
बिहीबार राति सम्पन्न सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमा गहिरो छलफल भएको थियो।
आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनका लागि तयारी तीव्र पारिएको छ। प्रस्तावित संशोधन अनुसार पार्टीभित्र रहेको ७० वर्षे उमेर हद र एक पदमा लगातार दुई कार्यकाल बस्न नपाउने प्रावधान हटाउने तयारी गरिएको छ।
विधान महाधिवेशनअघिको केन्द्रीय कमिटी बैठकले पौडेलले प्रस्तुत गरेको प्रस्तावलाई अन्तिम रूप दिने एमाले स्रोतले जनाएको छ।

