भारतको बिहारमा चट्याङ् लागेर ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
भारत,साउन २ । भारतको पूर्वी राज्य बिहारमा मनसुनी आँधीसँगै परेको चट्याङका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। भारतको विपद् व्यवस्थापन विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा बुधवार र बिहीबारको भीषण आँधीका क्रममा चट्याङ लाग्दा अधिकांश किसान र मजदुरहरू प्रभावित भएको जनाइएको छ।
विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका व्यक्तिहरू चट्याङको मुख्य चपेटामा परेका छन्। राजधानी पटना र वरपरका क्षेत्रमा अझै पनि भारी वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन जनाइएको छ।
बिहार राज्यका विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलका अनुसार सम्बन्धित जिल्लाका प्रशासनलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन निर्देशन दिइएको छ। चट्याङका कारण मृत्यु हुनेको परिवारलाई पटना सरकारले जनही ४० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेको छ।
विगत वर्षहरूमा पनि चट्याङले ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ। सन् २०२३ मा बिहारमा २७५ जना र २०२४ मा अहिलेसम्म कम्तीमा २४३ जनाको चट्याङ लागेर ज्यान गएको सरकारी तथ्याङ्कमा उल्लेख छ।
मनसुनका समयमा बाढी, चट्याङ र आँधीबेहरीका घटनाले पूर्वी भारतका राज्यहरू विशेषगरी बिहारमा बारम्बार विपद् निम्त्याउने गरेका छन्, जसले हजारौँ मानिसलाई विस्थापित पार्नुका साथै दर्जनौँको ज्यान जाने गरेको छ।

