डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
डडेल्धुरा,साउन २ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ डिल गाउँमा हँसिया प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। साउन १ गते बिहीबार राति ११ बजेतिर ५४ वर्षीय करन भुलले ४० वर्षीया श्रीमती खिमादेवी भुलको हत्या गरी फरार भएका थिए।
हत्या पछि फरार रहेका भुललाई प्रहरीले शुक्रबार बिहान पौने ९ बजे पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार प्रहरी निरीक्षक डम्बर बिष्टको नेतृत्वमा खटिएको टोलीले करन भुललाई गोयलबलेक क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार घरायसी विवादका क्रममा करनले हँसिया प्रहार गर्दा खिमादेवीको घटनास्थलमै मृत्यु भएको थियो। पक्राउ परेका भुलमाथि अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

