एक वर्षमा १७ अर्बकाे बिजुली भारत र बङ्गलादेश निर्यात
काठमाडौं,साउन २ । नेपालले आर्थिक वर्ष २०८१/८२ मा भारत र बंगलादेशमा गरी करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यो विद्युत् निर्यात हालसम्मकै उल्लेखनीय उपलब्धि हो।
उक्त अवधिमा नेपालले झण्डै १६.९ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरेको थियो। सरकारले पछिल्ला वर्षहरूमा नेपालमै विद्युत् उत्पादन बढाउँदै भारतबाट हुने आयातलाई क्रमशः घटाउँदै आएको छ।
ऊर्जा मन्त्रालयले हालै सार्वजनिक गरेको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै ऊर्जा मन्त्री दीपक खड्काले भारतसँग ९४१ मेगावाट विद्युत् निर्यात र १००० मेगावाट विद्युत् आयात गर्ने सहमति भएको जानकारी दिए। उनका अनुसार वर्षायाममा नेपालले भारतमा अधिकतम ८५० मेगावाट विद्युत् निर्यात गरेको छ भने, सुक्खायाममा ६७० मेगावाटसम्म आयात गरिएको छ।
गत आर्थिक वर्षमा नेपालले २,३३२ गिगावाट घण्टा विद्युत् निर्यात गरेको छ भने १,७१२ गिगावाट घण्टा विद्युत् आयात गरेको थियो। यो तथ्यांकले नेपाल विद्युत् निर्यातमा आत्मनिर्भर हुँदै गएको संकेत गर्दछ।
त्यस्तै, भारत र बंगलादेशसँगको त्रिपक्षीय सहमति अनुसार नेपालले पहिलोपटक बंगलादेशमा डलर भुक्तानीमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। यो नेपालका लागि जलविद्युत् क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा विस्तारको महत्वपूर्ण कदम मानिएको छ।

