नुवाकोटको तादी खोलामा डुबेर १८ वर्षीय युवा बेपत्ता, खोजी कार्य जारी
नुवाकोट, साउन २ – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६, गौडापुलस्थित तादी खोलाको किनारमा रहेको दहमा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार काठमाडौंको टोखा नगरपालिका–३ बस्ने १८ वर्षीय उत्सव श्रेष्ठ शुक्रबार दिउँसो करिब ४:४० बजे दहमा पौडी खेल्ने क्रममा डुबेका हुन्।
डुबेको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य जारी राखिएको छ।
घटनास्थल तादी खोलाको किनारमै रहेको गहिरो दह हो, जहाँ गर्मी महिनामा स्थानीय युवा तथा पर्यटकहरु पौडी खेल्न जाने गर्दछन्। खोजी कार्यमा समय लाग्ने अनुमान गरिएको छ।
यस घटनाले गर्मीयाममा नदी तथा दहहरूमा सुरक्षाको आवश्यकतालाई पुनः उजागर गराएको छ।

