दुप्चेश्वरधाम भ्रमणमा जानेलाई तादी खोलामा सचेत रहन अपिल
नुवाकोट, साउन २ । दुप्चेश्वर गाउँपालिका अन्तर्गतको पवित्र धार्मिक स्थल दुप्चेश्वरधाम दर्शनका लागि आउने श्रद्धालु र पर्यटकहरूलाई सुरक्षाका लागि सावधानी अपनाउन अनुरोध गरिएको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषद्वारा जारी सूचनामा भनिएको छ कि दुप्चेश्वरधाम नजिकै रहेको सूर्य कुण्ड तथा तादी खोलामा फोटो खिच्ने, भिडिओ बनाउने र पौडी खेल्नेजस्ता गतिविधिहरू गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
कोषले विशेषतः वर्षायामको समयमा तादी खोला अत्यन्तै ठूलो र बहाव तीव्र हुने भएकाले त्यस्तो जोखिमपूर्ण गतिविधिबाट टाढा रहन अनुरोध गरेको छ। विगतमा पटक–पटक मानवीय क्षति भइसकेको जनाउँदै पुनः त्यस्तो घटना नदोहरियोस् भनेर सबैमा चेतनामूलक अपिल गरिएको हो।
“धार्मिक स्थलको संरक्षण र पर्यटकको सुरक्षामा हामी सबैको उत्तरदायित्व रहन्छ,” कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठ भन्छन् , “अतः कृपया सावधानी अपनाऔं, सुरक्षित रहौं।”

