नुवाकोटको विदुरमा सम्पन्न भयो ‘कोरा साइकलिङ च्यालेञ्ज–२०२५’



शारीरिक स्वास्थ्य, पर्यटन प्रवर्द्धन र धार्मिक सम्पदाको संरक्षणमा जोड

नुवाकोट, साउन ३– ‘कोरा साइकलिङ च्यालेञ्ज–२०२५’ नुवाकोटको विदुरमा भव्य रूपमा सम्पन्न भएको छ। शारीरिक स्वस्थता, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन, वातावरणमैत्री यात्रा तथा परोपकारी कार्यको उद्देश्यले आयोजना गरिएको यस यात्रामा १५० भन्दा बढी सहभागी भएका थिए।

साइकल यात्रा विदुर नगरपालिकाको कार्यालयबाट सुरु भई बनदेवी, इन्द्रचोक, स्वयम्भु, चैत्य, साततले दरबार, भैरवीदेवी मन्दिर, धरमपानी, बाराही मन्दिर, बट्टार पुरानोपाटी हुँदै पुनः विदुर नगरपालिकाको कार्यालयमै समापन गरिएको थियो। यात्राको कुल दूरी झण्डै १३ किलोमिटर थियो।

साइकल यात्रामार्फत वातावरणमैत्री जीवनशैलीको सन्देश फैलाउने, स्थानीय धार्मिक एवं ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्ने र समुदायमा स्वास्थ्यप्रति सचेतना जगाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा स्थानीय क्लब, संघ–संस्था र स्वयंसेवकहरूको उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएका छन्। सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा र जागरुकता ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्