कुलो निर्माणमा आफैं जुटे मन्थलीका किसान



रामेछाप,साउन ४ । एक महिना अगाडि रणजोर खोलामा आएको बाढीले कुलो बगाएपछि सिंचाई सुबिधाबाट बन्चित रामेछापको मन्थली नगरपालिका वडा नं १ का किसानहरु अहिले उक्त कुलो निर्माणमा आफैं जुटेका छन् ।

खोलाले कुलो बगाएपछि रोपाईं गर्न नपाएका किसानहरु शनिबारबाट आफैं कुलो निर्माणमा जुटेका हुन् । रोपाईं गर्न ढिला हुन थालेकाले आफुहरु श्रमदान गरेर नै कुलो निर्माणमा जुटेको मन्थली १ मदौका किसान बिष्णु सुवेदीले बताए । अहिले उक्त कुलो निर्माणका लागि १ सय २० परिवारका किसानहरु श्रमदान गर्न जुटेका छन् ।

खेतको सतहभन्दा करिब ३ मिटर गहिरो बनाएर कुलो बगाएपछि सिंचाईको अभावमा रोपाईं गर्न नसकिएपछि श्रमदान गरेरै भएपनि कुलो निर्माणका लागि गाउँका सवैजना जुटेको मन्थली १ कि किसान उर्मिला सुवेदी बताउछन् ।

गाउँका महिला र पुरुष सवै भेला भएर श्रमदान गरी कुलो चलाउनका लागि आफुहरुले टन्टलापुर घाममा ढुंगा बोकेर श्रमदान गरेको किसान गोपी भुजेल बताउछन् । उनले कुलो बगाउने गरी असाढ महिनाको पहिलो सातामा आएको बाढीले आफ्नो खेत समेत सवै बगाएको बताए।

खोलाले बगाएर रणजोर खोला किनारको खेतका फाँटहरुमा सिंचाई सुबिधा नभएपछि किसानहरुलाई आफुले सहयोग गर्ने बचत दिएको मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले बताए ।

असार महिनाको पहिलो साता रणजोर खोलामा आएको बाढीले कुलो बगाएपछि उक्त कुलोबाट सिंचाई हुँदै आएको करिब ४ सय रोपनी खेतमा अहिले रोपाईं हुन सकेको छैन । गाउँका १ सय २० परिवारका सवै जना अहिले कुलो निर्माणका लागि श्रमदानमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्