कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिमा ढिलाइ, ७०% काम सम्पन्न



काठमाडौँ, साउन ४ । प्रधानमन्त्रीको विशेष पहलमा सुरु गरिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्तरोन्नतिको काम ढिलाइ भएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्यारापिट निर्माण र फ्लडलाइट जडानको योजना फागुनमा सम्झौता भई वैशाख २४ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर काम समयमा नसकिएपछि ठेकेदार कम्पनीलाई जरिवाना तिराउने निर्णय गरिएको छ।

४३ करोड ७७ लाखको लागतमा निर्माण भइरहेको रंगशालाको प्यारापिट निर्माणमा ७० प्रतिशत प्रगति भएको छ भने फ्लडलाइटको ४५ प्रतिशत काम सम्पन्न भएको छ। वर्षात्का कारण सामान ढुवानी र प्राविधिक परिमार्जनमा ढिलाइ भएकाले समयसीमा नाघिएको निर्माण पक्षको दाबी छ।

छ वटा फ्लडलाइट राखिने यस रंगशालामा तीन वटा पोल भारतबाट आइसकेका छन्। नेपाल क्रिकेट सङ्घले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि रंगशाला तयार हुने अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्