भारतको निमन्त्रणामा सेप्टेम्बर १६ मा दिल्ली जाँदै प्रधानमन्त्री ओली
काठमाडौं,साउन ४ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ‘धेरै छिट्टै’ भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ अन्तिम साता अर्थात आगामी सेप्टेम्बर १६ मा दिल्ली जाने छन् ।
प्रधानमन्त्री ओलीले सन् २०२४ को जुलाईमा चौथो पटक पद ग्रहण गरे पनि अहिलेसम्म भारतको औपचारिक भ्रमण गरेका छैनन् । उनले परम्परागत अभ्यास तोड्दै आफ्नो पहिलो विदेशी भ्रमण चीनलाई रोजेका थिए ।
यस वर्षको अप्रिल महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैकाकमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनको अवसरमा ओलीको भेटवार्ता भएको थियो । दुई नेताहरूले ऊर्जा, सम्पर्क सुविधा र जनस्तरका सम्बन्ध लगायतका क्षेत्रमा प्रगतिको समीक्षा गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस भ्रमणले दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ पार्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री ओलीको यो भ्रमणमा व्यापार, सुरक्षा, पूर्वाधार विकास र क्षेत्रीय सहकार्यजस्ता महत्वपूर्ण विषयहरूमा छलफल हुने अनुमान गरिएको छ।

