नुवाकोटको शिवपुरीमा वडाबाटै सामाजिक सुरक्षा भत्ता: वृद्धवृद्धामा खुसीको लहर



नुवाकोट, साउन ५ । शिवपुरी गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका वृद्धवृद्धाहरुलाई लक्षित गरी वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सामाजिक सुरक्षा भत्ता वितरणको कार्य शिवपुरी–१ वडा कार्यालयबाट औपचारिक सुरुवात गरिएको हो।

शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाको नेतृत्वमा सुरु गरिएको यो कार्यक्रमअन्तर्गत आइतबार वडा नं. १ का लाभग्राही वृद्धवृद्धाहरुलाई भत्ता वितरण गरिएको हो। कार्यक्रमको अनुगमन गर्न पुगेका गाउँपालिका उपाध्यक्ष बीरबहादुर तामाङ र प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले सेवा प्रवाह प्रक्रिया सहज र प्रभावकारी रहेको बताए।

वडा अध्यक्ष सुकुराम तामाङका अनुसार भत्ता वितरण कार्य छिटोछरितो र प्रभावकारी बनाउनेतर्फ विशेष ध्यान दिइएको छ। उनले सेवा लिन आउने आमाबुबालाई सहज वातावरण प्रदान गर्दै प्रक्रिया सरल बनाउने प्रयास भइरहेको जानकारी गराए।

भत्ता पाउने लाभग्राही वृद्धवृद्धाहरुले शिवपुरी गाउँपालिकाले आफ्नो दुःख, मर्का र अवस्था बुझेर सिधै वडामा सेवा उपलब्ध गराएको भन्दै पालिकाप्रति कृतज्ञता व्यक्त गरे।

शिवपुरी गाउँपालिकाका अनुसार आज शिवपुरी–२ वडा कार्यालयमा पनि सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सञ्चालन गरिदैछ । यससम्बन्धी सूचना गाउँपालिकाले यस अघि नै सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्