प्रचण्डको भनाइ : “आर्थिक समृद्धिका लागि राज्यको सोचाइ सुधार गर्न जरुरी”
काठमाडौँ ,साउन ५ — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न समग्र राज्यको सोचाइ र नीतिगत संरचनामा सुधार आवश्यक रहेको बताएका छन्।
सोमबार खुमलटारस्थित आफ्नै निवासमा नेपाल उद्योग परिसंघ (सिएनआइ) का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा राज्यले निजी क्षेत्रलाई सहज वातावरण बनाउनुपर्नेमा जोड दिए।
“निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” प्रचण्डले भने, “राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।”
उनले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी सहकार्यको आवश्यकता रहेको उल्लेख गरे।
भेटमा सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले खेलेको भूमिकाको चर्चा गर्दै प्रचण्ड प्रधानमन्त्री रहेका बेला भएको सहकार्यलाई सकारात्मक रूपमा स्मरण गरेका थिए।

