देशभर मनसुनी प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, साउन ५— हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेका कारण आज सोमबार पनि अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर सरेको हुँदा देशभर मौसम परिवर्तन हुने संकेत देखिएको हो। विभागले विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको समेत विभागले जनाएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगमा पनि हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा केही स्थानमा तथा अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।
गण्डकी प्रदेशमा भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। अत्यधिक वर्षाका कारण पहिरो, बाढी र डुबानको जोखिम पनि बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

