मनास्लु संरक्षण क्षेत्र घुम्न जाने विदेशीको पर्यटकको सङ्ख्यामा वृद्धि



गोरखा,साउन ५ । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

गएको साउनदेखि यहीँ असार मसान्तसम्मको एक वर्ष अवधिमा मनास्लु क्षेत्रमा १२ हजार ५ सय १२ जना विदेशी पर्यटक घुम्न पुगेको उनले बताए । यो अहिलेसम्मकै सर्वाधिक हो । मनास्लु क्षेत्रमा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ ।

प्रमुख शेरचनका अनुसार मनास्लु क्षेत्रमा गतबर्ष सार्क राष्ट्रका २ सय ५३ जना र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका १२ हजार हजार  २ सय ४८ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । सोही अवधिमा ११ जना नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन् ।
मनास्लु क्षेत्रमा अघिल्लो आ.ब ०८०/०८१  मा ९ हजार ७ सय ८३ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा झन्डै २ हजार ७ सय २९ जना बढी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको हुन् ।

गत आ.ब मा मनास्लु घुम्न पुग्ने विदेश पर्यटकहरू मध्ये फ्रान्सका सबैभन्दा बढी रहेका छन् । फ्रान्सका ७ सय ६३ पुरुष र ६ सय ४४ महिला गरी १ हजार ४ सय ७ जना पर्यटकले गतबर्ष मनास्लु क्षेत्रको भ्रमण गरेको उनले बताए ।

त्यसबाहेक धेरैजसो जर्मन, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड, इजरायल, बेलायत, अस्ट्रेलिया, स्पेन, रसिया, क्यानडालगायतका देशका पर्यटकहरू मनास्लु क्षेत्रमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्