पालिकालाई एकदिन श्रम’ अभियानअन्तर्गत पञ्चकन्यामा विशेष श्रमदान कार्यक्रम हुने
नुवाकोट, साउन ५ – पञ्चकन्या गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअनुसार ‘कोहीभन्दा छैन कम, पालिकालाई एकदिन श्रम’ भन्ने नारासहित विशेष श्रमदान कार्यक्रम सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले यही साउन २३ गतेदेखि श्रमदान कार्यक्रम सुरु गर्न लागेको हो। नयाँ आर्थिक वर्षको पहिलो चरणको कार्यक्रम अन्तर्गत वडा नम्बर ४ स्थित शहीद स्मारक पर्यटकीय पार्क तथा खेलकुद मैदानको समग्र विकास गर्न श्रमदान गरिने पालिकाले जनाएको छ।
सो कार्यक्रम अन्तर्गत चियाखेती गोडमेल लगायतका कार्य गरिनेछ। उक्त अवसरमा बिहान ११ बजे घ्याङ्स्वाँरा पार्कमा श्रमदान कार्यक्रम आयोजना गरिने छ।
श्रमदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा सम्पूर्ण सरोकारवाला र आम नागरिकहरूलाई सहभागिता जनाउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराधन राईले आग्रह गरेका छन् ।
उल्लेखनीय छ, उक्त घ्याङ्स्वाँरा पार्क क्षेत्रमा २०७८ असार २६ गते १२ हजार ५० वटा चियाको बिरुवा रोपिएको थियो। पालिकाले सो क्षेत्रलाई पर्यटकीय र खेलकुद गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित श्रमदान अभियान अघि बढाएको हो।

