नुवाकोट सूर्यगढीमा रास्वपा आकर्षण: कांग्रेस–एमालेका कार्यकर्ता दर्जनौंको संख्यामा प्रवेश
नुवाकोट,साउन ५ — नुवाकोटको सूर्यगढी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिको आकर्षण बढ्दो देखिएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका दर्जनौं कार्यकर्ता तथा समर्थकले पार्टी त्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्।
रास्वपा प्रवेश कार्यक्रम काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय घण्टिघर बनस्थलीमा सम्पन्न भएको हो। कार्यक्रममा कार्यवाहक सभापति डोल प्रसाद अर्याल, बागमती प्रदेश समिति सभापति अच्युतम लामिछाने लगायत रास्वपाका नेताहरूको उपस्थिति रहेको थियो।
पार्टीमा प्रवेश गर्नेहरूलाई रास्वपाका नेता बसन्त धितालले स्वागत गर्दै आगामी दिनमा रास्वपाको संगठन बलियो बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार सूर्यगढी क्षेत्रबाट युवादेखि पुराना कार्यकर्तासम्म रास्वपाको विचारधाराप्रति आकर्षित हुँदै पार्टीमा आउन थालेका छन्।
हालैको स्थानीय राजनीतिक परिवर्तनसँगै सूर्यगढीमा रास्वपाको प्रभाव विस्तार हुँदै गएको आकलन गरिँदैछ। प्रमुख राजनीतिक दलहरूबाट मोहभङ्ग भएका युवाहरू र नागरिकहरू नयाँ विकल्पको खोजीमा रास्वपातर्फ आकर्षित भएको नेताहरूको दाबी छ।

