नेपाललाई हराउँदै बङ्गलादेश च्याम्पियन



काठमाडौं,साउन ५ । साफ यु–२० महिला च्याम्पियनसिप उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ । बङ्गलादेशको ढाकामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बङ्गलादेशसँग ४–० गोलले पराजित भएपछि नेपाल उपविजेतामा सिमित बन्यो ।

बङ्गलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो । एकपक्षीय खेलमा पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा तीन गोल थपेको थियो । 

बङ्गलादेशको जितमा सबै गोल मोसमत सागोरिकाले गरिन । आठौँ मिनेटमा गोलको खाता खोलेकी उनले ५१औँ र ५८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन । त्यसपछि सागोरिकाले ७७औँ मिनेटमा ब्यक्तिगत चौथो गोल गर्दै टोलीलाई सानदार जित दिलाए। 

नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । दोस्रो लेगमा बदला लिँदै उपाधि जित्ने नेपालको योजना सफल भएन ।

सोमबार नै भएको अर्को खेलमा श्रीलङ्कालाई हराउँदै भुटान तेस्रो भएको छ । डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा यसअघि नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । यस्तै भुटानलाई ६–१ र ८–० गोलले हराएको थियो ।

च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने प्रावधान रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्