जीवन र मृत्युको दोसाँधमा नुवाकोट दुप्चेश्वरको सरोज : एक युवाको आशाको सारथी बनौं
नुवाकोट, साउन ६ — दुप्चेश्वर गाउँपालिका–६ का २३ वर्षीय सरोज थापा अहिले क्यान्सर जस्तो जटिल रोगसँग जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका छन्। उनलाई रगतको क्यान्सर भएको छ । सामान्य कृषिमा आश्रित परिवारका एक मात्र छोराको रूपमा हुर्केका सरोजको जीवन अहिले काठमाडौंको टिचिङ हस्पिटल, सुरेश वाग्ले भवनको तेस्रो तल्ला स्थित बेड नम्बर १७१२ मा थलिएको छ।
सामान्य जीवनशैली बिताइरहेका सरोजको सपना थियो, पढेर, मेहेनत गरेर परिवारलाई सघाउने। तर दुर्भाग्यवश, स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि परीक्षणका क्रममा उनलाई क्यान्सर भएको पुष्टि भयो। रोग पत्ता लागेसँगै सुरु भएको छ उपचारको महँगो यात्रा, जसको बोझ अहिले उनको परिवारलाई असह्य बन्दै गएको छ। लाखौं रुपैयाँ खर्च हुने उपचार प्रक्रिया निरन्तर चलिरहे पनि, आर्थिक स्रोतको अभावले अब त्यो उपचार रोकिने स्थितिमा पुगेको छ।
सरोजका बुबा देबि बहादुर थापा स्थानीय कृषक हुन्। खेतबारीमा गरिखाने जनजीवन बिताउँदै आएका उनी छोराको उपचार खर्च व्यवस्थापनमा सक्दो प्रयास गरिरहेका छन्। तर दैनिक हजारौं रुपैयाँ लाग्ने औषधि, परीक्षण, सिटी स्क्यान, अस्पताल शुल्क जस्ता खर्चहरू अब उनको पहुँचभन्दा धेरै टाढा भइसकेका छन्। यही पृष्ठभूमिमा, सरोजको जीवन रक्षाका लागि सामाजिक रूपमा ‘#सरोज_बचाऔं_अभियान’ सुरु गरिएको छ।
स्थानीय युवाहरू, सामाजिक अभियन्ताहरू र विभिन्न वर्गका नागरिकहरूले मानवीयताको धर्म पालना गर्दै अभियानको सन्देश फैलाइरहेका छन्। उनीहरूले सरोजको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन्। बुबा देबि बहादुर थापाको नाममा एभरेस्ट बैंक, दुप्चेश्वर शाखामा रहेको ०६४००५४०२००२८६ नम्बरको खातामा सहयोग रकम पठाउन सकिनेछ। यसका अतिरिक्त थप जानकारीको लागि ९७६१८४२२०२ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
अभियानमा संलग्न सञ्जालले “सहयोग नै सबैभन्दा ठूलो धर्म हो” भन्ने सन्देशसहित सबैमा अपिल गरेको छ — “आज तपाईंले दिएको एक सेयर, एक रुपैयाँ वा एक शुभकामनाले पनि सरोजको जीवनमा उज्यालो फर्काउन सक्छ।”
अहिले सरोजको आँखामा अधुरो सपना छ, तर आशा मरेको छैन। उनको जीवन बचाउन सकिने सम्भावना अझै बाँकी छ — त्यसका लागि चाहिन्छ हाम्रो सानो सहभागिता।
यस अभियानमार्फत सबै नेपालीलाई एकपटक सोच्न आग्रह गर्छन् अगुवा युवा राजकुमार श्रेष्ठ । उनी भन्छन् — “आज अरूको जीवन बचाउने सहयोगी हात, भोलि तपाईंको लागि पनि थामिने आधार बन्न सक्छ।” सरोजको जीवनको लडाइँमा सबैले साथ दिन उनले अपिल गरे ।

