बाढीले क्षति पुर्‍याएको रसुवाका एकसय ७१ मेगावाट विद्युत अझै प्रणाली बाहिरै



नुवाकोट,साउन ६ । नेपाल–चीन छोटो दुरीको रसुवागढी नाकामा रहेको लेन्देखोलामा आएको विनासकारी बाढीले तहसनहस पारेको सयौं मेगावाट जलविद्युत प्रणाली बाहिरै रहन पुगेको छ ।

गत असार २४ गते मंगलवार चीनको तिव्वतबाट आएको अकल्पनीय बाढीले विभिन्न जलविद्युत् आयोजनाहरूमा गरेको क्षतिको विवरण आउने क्रम जारी रहेको छ । क्षतिको पुर्ण विवरण आउन अझै समय लाग्ने भएको छ ।

बाढीले विभिन्न जलविद्युत आयोजनामा गरेको व्यापक क्षति, त्यसवाट अन्य जलविद्युत आयोजनामा परेको प्रभावका कारण सुरुमा दुइसय ६० मेगावाट जलविद्युत विच्छेद अर्थात प्रणाली वाहिर हुन पुगेको थियो । यसबाट संरचनाहरुमा निकै क्षतिका साथै विद्युत विक्रिवाट आउने करोडौ रकमसमेत घाटा लागेको छ ।

एकसय ७१ मेगावाट विद्युत अझै प्रणाली भन्दा वाहिर अर्थात् उत्पादन नै हुन सकेको छैन् । विनासकारी बाढीले एकसय ११ मेगावाट क्षमताको रसुवागढी र ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत आयोजनामा निकै क्षति गरेका कारण सन्चालन हुन नसकेको हो ।

ती दुई आयोजनाको पुनर्निर्माण र मर्मत भई विद्युत उत्पादन गर्ने कार्य अनिश्चित भएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको हेडवक्सलगायतका संरचनामा निकै क्षति पुर्‍याएको छ ।

रसुवागढी आयोजनाको हकमा हिउँदमा लेन्देखोलाको पानी घटेपछि स्थलगत रुपमा सर्भे गरेर अस्थायी रुपमा सन्चालनको तयारी गरिने प्राधिकरणका प्रवक्ता राजन ढाकलले जानकारी दिए ।

उनका अनुसार त्रिशूली थ्रि ए जलविद्युत आयोजना भने एक-डेढ महिनापछि सुचारु हुने गरि मर्मत र पुनर्निर्माण भइरहेको छ । बाढीले क्षति गरेको नुवाकोटको किस्पाङस्थित त्रिशुली थ्री वि हवको अस्थायी रपमा मर्मत गरेर सुचारु गरिएको प्राधिकरणले जनाएको छ ।

बाढीले प्रभावित भएका विभिन्न ६ वटा जलविद्युत आयोजना सञ्चालनमा आएका छन् । बाढीले क्षति र प्रभावित बनाएका विभिन्न जलविद्युत् आयोजनामध्ये ६ आयोजना सञ्चालनमा आएको प्रवक्ता ढकालले जानकारी दिए । बाढी आएको दुई हप्तापछि ती आयोजना सञ्चालनमा आएका हुन् ।

चिलिमे, अपर मैलुङ, त्रिशूली, देवीघाट, तादी र वुद्धभुमि जलविद्युत आयोजनाले आवस्यक मर्मत र उपकरण जडानसंगै पुनः विद्युत उत्पादन सुरु गरिसकेको प्राधिकरणका प्रवक्ता ढकालको भनाई छ ।

सञ्चालनमा आएका आयोजनाहरूको पनि यकिन रुपमा कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको बताए । उनका अनुसार हालसम्म ९० मेगावाट विद्युत सुचारु भई प्रणालीमा जोडिएको छ ।

गत महिनाको भीषण बाढीले रसुवामा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–थ्रि ए, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र, १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्र, १४ दशमलव ३ मेगावाट क्षमताको अपर मैलुङ जलविद्युत् आयोजना, ११ मेगावाट क्षमताको सूर्यकुण्ड जलविद्युत् आयोजना, ५ मेगावाट क्षमताको बुद्धभूमि जलविद्युत् आयोजना एवं २२० र १३२ र ३३ केभीए क्षमताको त्रिशूली–३ वी हबमा क्षति पुर्‍याउनुका साथै आयोजना प्रभावित गरेको थियो ।

जसमध्ये सोमबारसम्म चिलिमे, त्रिशूली, देवीघाट, सूर्यकुण्ड, बुद्धभूमि लगायत कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजनाहरू सञ्चालनमा आइसकेको प्रवक्ता ढकालले बताए ।

बाढी र पहिरोले जलविद्युत आयोजनामा गरेको क्षतिको मूल्याङ्कन गर्ने कार्य प्राविधिकहरुमार्फत जारी रहेको र मर्मतसम्भार गरी आयोजनाहरू पुनः सञ्चालनमा ल्याउन लाग्ने समय पनि क्षतिको पूर्ण विवरण आएपछि मात्र भन्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्