ढाकास्थित एक विद्यालयमा सैनिक विमान खस्दा कम्तिमा २० जनाको मृत्यु, १७० भन्दा बढी घाइते



काठमाडौं,साउन ६ । बंगलादेशको राजधानी ढाकामा तालिममा रहेको सैनिक विमान विद्यालयको भवनमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा एक सय ७० भन्दा बढी घाइते भएको बताइएको छ । बंगलादेश वायुसेनाको एफ–७ बीजीआई विमान उत्तरा क्षेत्रमा दुर्घटना भएको बंगलादेशको सेनाले पुष्टि गरेको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ ।

सो लडाकु विमान स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजेर ६ मिनेटमा उडेको थियो र केही समयमै दुर्घटना भएको थियो । यो घटना बंगलादेशको राजधानी ढाकामा भएको पछिल्लो सबैभन्दा भयावह विमान दुर्घटना मानिएको छ ।

उत्तर क्षेत्रको मिलस्टोन स्कूल र कलेजको परिसरमा भएको दुर्घटनापछि ठूलो आगो र बाक्लो धुवाँको मुस्लो उडेको थियो । घाईते हुनेमा बालबालिका र अभिभावकहरू समेत रहेका छन् । उनीहरुको उपचार भईरहेको समाचार छ ।

दुर्घटनाको समयमा स्कुल एण्ड कलेजमा करीब २ हजार विर्द्यार्थी रहेका र विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुने समाचारमा उल्लेख छ ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले दुर्घटनाको कारण छानबिन गर्न आवश्यक उपायहरू अवलम्बन गरिने बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्