नुवाकोटमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
नुवाकोट, साउन ६ – नुवाकोटको बिदुर नगरपालिका–५ पिपलटारस्थित गल्छी–त्रिशूली सडकखण्डमा मंगलबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
गल्छीबाट बट्टारतर्फ जाँदै गरेको बा.प्र.०२–०३४ प ९९८५ नम्बरको मोटरसाइकल र त्रिशूलीबाट गल्छीतर्फ आइरहेको बा.प्र.०२–०३५ प १२०९ नम्बरको मोटरसाइकल पिपलटार पेट्रोल पम्प नजिक ठोक्किएको हो।
दुर्घटनामा बिदुर नगरपालिका–६, इनारपार्टीका २४ वर्षीय सुसान्त पौडेल गम्भीर घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको र बोल्न सक्ने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दोस्रो मोटरसाइकलका चालक बिदुर नगरपालिका–१२ का ४० वर्षीय सरोज पौडेल सामान्य अवस्थामा छन् भने पछाडि सवार उनकी श्रीमती ३७ वर्षीया सिता रिमाल पौडेलको बायाँ खुट्टामा सामान्य चोट लागेको छ।
घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ। मोटरसाइकलहरू प्रहरीको नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

