नुवाकोटमा पानी ट्याङ्कीमा डुबेर ४ वर्षीय बालकको ज्यान गयो



नुवाकोट, साउन ६ – नुवाकोटको बिदुर नगरपालिका–९, किम्ताङ टोलमा एक बालकको पानी ट्याङ्कीमा डुबेर ज्यान गएको छ।

स्थानिय केशव तामाङका ४ वर्षीय छोरा दिक्षान्त तामाङ मंगलबार बिहान घरबाट खेल्न निस्किएपछि हराएका थिए। परिवारले खोजतलास गर्ने क्रममा दिउँसो १२:४५ बजे सोही टोलका पूर्ण तामाङको घरको कम्पाउण्डभित्र रहेको पानीको ट्याङ्कीमा बालकको शव डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमको लागि त्रिशूली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बालकको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। परिवार र स्थानीयवासी शोकमा छन्।

प्रतिक्रिया दिनुहोस्