‘भूकम्प पीडितका लागि स्थायी आवासको प्रबलीकरण गर्न सरकार लागिरहेको छ’



काठमाडौं,साउन ६ । गृहमन्त्री रमेश लेखकले भूकम्प गएर पुनर्निर्माणको काम भइरहेका जिल्लाहरूमा भूकम्प पीडितका लागि तीव्र रुपमा स्थायी आवासको प्रवलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना गर्न सरकार सशक्त ढंगले लागिरहेको बताएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसद मायाप्रसाद शर्माले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले जाजरकोट भूकम्पका पीडितको नीजि आवास निर्माणका लागि हालसम्म ३ अर्ब ९५ करोड ६३ लाख ५० हजार रुपैयाँ वितरण भइसकेको जानकारी गराए ।

मन्त्री लेखकले पुनर्निर्माणका लागि रकम पर्याप्त नभए पनि देशको बजेटको सीमा, अवस्था र उपलब्ध स्रोत साधनको अवस्था हेरेर अहिले अनुदान रकम बढाउन सक्ने अवस्था नरहेको बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ वटा पुलहरूमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी गराए ।

सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको उत्तर दिँदै मन्त्री दाहालले चालु आर्थिक वर्षदेखि सुरु भएर आगामी तीन वर्षभित्र रिजिगाड खोला, चुगाड खोला, उसुमखोला, गल्लीगाड खोलालगायतका आठवटा भेरी करिडोर अन्तर्गतका पुल निर्माण गरिने योजना रहेको बताए ।

मध्यपहाडी राजमार्गमा पर्ने भेरी नदी पुलको निर्माण वाईपी कन्स्ट्रक्सन प्रालिले सम्झौताअनुसार नगरेका कारण ठेक्का तोडी नयाँ ढंगले प्रक्रिया अगाडी बढाएको पनि जानकारी दिए । 

राष्ट्रिय सभाको आजको बैठकले दुइवटा विधेयकहरू संघीय निजामती सेवा विधेयक २०८० र नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । 

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गरेको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो । विधेयकमा राष्ट्रिय सभाका ४३ जना सांसदहरुले एकल र संयुक्त गरी १६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गरेको प्रस्ताव सभाले  सर्वसम्मति रुपमा स्वीकृत गरेको छ ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गरी कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाए ।

सभाले अध्यक्ष दाहालले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सांसद गोपाल भट्टराईलाई गरेको मनोनयनलाई सहमति प्रदान गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक यही साउन ११ गते आइतबार दिउसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्