जंगली च्याउ खाँदा रुकुमपूर्वमा एकको मृत्यु, तीन बिरामी
रुकुमपूर्व,साउन ७ । जङ्गली च्याउ खाएर रुकुमपूर्वमा एक बालकको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन् । भूमे गाउँपालिका–५ सेराबाङका ३ वर्षीय योजन सुनारको मृत्यु भएको छ। बालकका आमा ३५ वर्षीया राजकुमारी सुनार, सुनारका छोरी ९ वर्षीया आयुषा सुनार र ६ वर्षीया भाग्यरेखा सुनार बिरामी भएका छन् ।
च्याउ खाएर बिरामी भएपछि सोमबार बिहान रुकुमपूर्व अस्पतालमा भर्ना भएका थिए । रुकुमपूर्व अस्पतालबाट थप उपचारको लागि मङ्गलबार बिहान राजकुमारी, योजन र भाग्यरेखालाई सुविधा सम्पन्न अस्पताल पठाएइको रुकुमपूर्व अस्पतालले जनाएको छ।
जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा दिउँसो ३ बजे योजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवले जानकारी दिए। आमा राजकुमारी र छोरी भाग्यरेखाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि जिल्ला अस्पताल सल्यानबाट दाङ पठाइएको डीएसपी यादवले बताए । अर्का बिरामी आयुषालाई थप उपचारको लागि रुकुम पश्चिम पठाइएको उनले बताए ।
सुनारका परिवारले शुक्रबार साँझ च्याउ खानु भएको थियो। ज्वरोले धेरै नै च्यापेको अवस्थामा उनीहरू उपचारका लागि सोमबार रुकुमपूर्व अस्पताल आएको बताइएको छ।

