बिदुरको होटलमा ग्यास लिक भएर आगलागी, दस लाख बराबरको क्षति



नुवाकोट, साउन ७ – नुवाकोटको बिदुर नगरपालिका–१, ढुङ्गेमा रहेको श्रेष्ठ होटलमा आगलागी हुँदा करिब दश लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आज बिहान करिब ७:५० बजे होटलको भान्सा कोठामा खाजा पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। आगलागीका कारण होटल भित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरको संरचनामा आंशिक क्षति पुगेको छ।

घटनापछि प्रहरी, बिदुर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो ८:०५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार आगलागीबाट होटलमा रहेका २ थान फ्रिज, फर्निचर, पंखा, झ्यालढोका, रक्सी, कोल्ड ड्रिंक, जस्तापाता आदि सम्पत्ति नष्ट भएका छन्।

सौभाग्यवश घटनामा कुनै मानवीय क्षति भएको छैन। आगलागीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्