बेलकोटगढीको शहीद पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न, नगरप्रमुख गुरुङद्वारा वातावरण संरक्षणमा जोड



नुवाकोट, साउन ७ – नुवाकोटको बेलकोटगढी नगरपालिका–१०, कुमरीस्थित झ्याङलि पोखरी क्षेत्रमा निर्माण गरिएको शहीद पार्कमा बुधबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

शहीदप्रति श्रद्धाञ्जली अर्पण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख जगतबहादुर गुरुङले वृक्षारोपणको महत्त्वबारे प्रकाश पार्दै हरित वातावरण निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

“वृक्ष हामी सबैको जीवनसँग जोडिएको छ। आजको यो सानो कदमले भविष्यको वातावरण संरक्षणमा ठूलो योगदान पुर्‍याउनेछ,” गुरुङले कार्यक्रममा भने, “शहीदको सम्मानसँगै हामीले प्रकृतिप्रतिको कर्तव्य पनि निभाउनुपर्छ।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक संस्था, प्रहरी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। विभिन्न जातका विरुवा रोपिएको सो कार्यक्रमले शहीद पार्कको सौन्दर्य थप बढाउने विश्वास गरिएको छ।

बेलकोटगढी नगरपालिकाले कुमरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित शहीद पार्कको संरचना विस्तार र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्