यी हुन् एमाले केन्द्रीय कमिटीका आठ निर्णय



काठमाडौं, साउन ७ – नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले विधान संशोधनसहित आठ बुँदे निर्णय सार्वजनिक गरेको छ। बैठकले पार्टी विधानमा सदस्य वर्गीकरण, उमेर सीमा, कार्यकाल हटाउने व्यवस्था र पदाधिकारी संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको हो।

बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै, संवैधानिक पदबाट अवकाश प्राप्त व्यक्तिले दलीय राजनीतिमा फर्कनु अनुचित हुने जनाएको छ। बैठकले वर्तमान सत्ता गठबन्धन मजबुत पार्ने, भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिने, सुख्खा प्रभावित क्षेत्र र किसान समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

पुष्पलाल स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण गर्दै बैठकले एमालेको राजनीतिक यात्रा थप सुदृढ गर्ने अठोट दोहोर्‍याएको छ। रसुवामा बाढीपीडितका लागि राहत र मितेरी पुल पुनर्निर्माणमा कूटनीतिक पहलको मागसमेत गरिएको छ।

अन्त्यमा, विभिन्न पार्टी नेताहरूको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्