नगर अस्पतालका लागि हर्क साम्पाङको स्वास्थ्य मन्त्रालयलाई आग्रह – “कुन कुलङ्घारले वीपी अस्पताललाई जग्गा दियो?”



धरान, साउन ७– धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले छाता चोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक पत्रमार्फत माग गरेका छन्।

नगरपालिकाको स्वामित्वमा रहेको सो जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको विषयमा असहमति जनाउँदै उनले तीव्र प्रतिक्रिया दिएका छन्। पत्रमा उनले उल्लेख गरेका छन्, “धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ। तर कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई नगरपालिकाको जग्गा दिएछ, थाहा भएन। यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। कृपया फिर्ता गरिदिनु होला।”

नगर अस्पतालका लागि आवश्यक जग्गा अभाव भइरहँदा नगरकै पुरानो अस्पताल क्षेत्र स्वास्थ्य प्रतिष्ठानलाई दिइनु अनुचित भएको भन्दै साम्पाङले मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्। उनले स्थानीय जनताको सेवा सुविधाका लागि नगर अस्पताल अपरिहार्य रहेको र त्यसका लागि उपलब्ध स्रोतसाधन जोगाउनुपर्ने तर्क दिएका छन्।

साम्पाङको यो पत्र सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत चर्चा सुरु भएको छ। स्थानीयबासीले समेत नगर प्रमुखको भनाइप्रति समर्थन जनाउँदै नगर अस्पताल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्