टोखा नगरको सामाजिक सुरक्षा योजना: नवजात शिशुको खातामा ५ हजार, मृत्युपछि संस्कारका लागि १० हजार सहयोग
टोखा, साउन ७ – सामाजिक उत्तरदायित्वअन्तर्गत टोखा नगरपालिकाले महत्वपूर्ण योजना सार्वजनिक गरेको छ। अबदेखि टोखा नगर क्षेत्रमा जन्मिने प्रत्येक नवजात शिशुको खातामा नगरपालिका स्वयंले पाँच हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
त्यस्तै, मृत्यु पश्चात् गरिने संस्कारको लागि नगरपालिकाले दश हजार रुपैयाँ सहयोग उपलब्ध गराउनेछ। यो सहायता भने अति विपन्न तथा गरिब परिवारहरूलाई लक्षित गरी प्रदान गरिने जनाइएको छ।
टोखा नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेद्वारा आयोजित एसइई उत्तीर्ण विद्यार्थी सम्मान तथा शुभकामना कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले सार्वजनिकरूपमा उक्त योजना घोषणा गरेका हुन्।
उनका अनुसार, “नगर क्षेत्रभित्र जन्मिने प्रत्येक बालबालिकाको भविष्य सुरक्षित बनाउने र गरिब परिवारको बोझ कम गर्ने उद्देश्यले यो निर्णय गरिएको हो।”
कार्यक्रममा एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै शिक्षामा प्रोत्साहन दिने नगरपालिकाको प्रयासलाई निरन्तरता दिइने समेत नगर प्रमुख अधिकारीले बताए।

