“भत्ता मात्रै होइन, सेवा पनि! – शिवपुरी ४ का वृद्धवृद्धालाई स्वास्थ्य जाँचसहित सुरक्षा भत्ता”
• भरतसन्तोषी लामा
नुवाकोट, साउन ८ – सधैंजसो सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमहरू केवल रकम हस्तान्तरणमै सीमित हुने गर्छन्। तर, शिवपुरी गाउँपालिका–४ सिक्रेमा बुधबार सम्पन्न सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम भने उदाहरणीय बन्यो।
भत्ता वितरण कार्यक्रममा वडाभित्रका २५३ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरू सहभागी भएका थिए, जसमा ६० जना अति वृद्ध तथा अशक्त नागरिक रहेका छन्। कार्यक्रममा भत्ता वितरणसँगै सबै लाभग्राहीको रक्तचाप (प्रेसर), रक्तशर्करा (सुगर) लगायतका आवश्यक स्वास्थ्य परीक्षणहरू समेत गरिएको थियो।
शिवपुरी गाउँपालिका कार्यालय र सानीमा बैंक, शेरावगर शाखाको सहकार्यमा सम्पन्न यो कार्यक्रमले सामाजिक सुरक्षाको पहुँचलाई केवल आर्थिक नभई स्वास्थ्य र सम्मानजनक जीवनशैलीसँग पनि जोडिएको सन्देश दिएको छ।
कार्यक्रमबारे जानकारी दिंदै वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले भने,“हामीले भत्ता वितरणलाई औपचारिकता मात्रै नभई सेवा दिने अवसर बनाएका छौँ। विशेष गरी अशक्त र वृद्ध नागरिकहरूलाई स्वास्थ्य चेकजाँचले सान्त्वना मात्र होइन, समयमै रोग पहिचान र सचेतनाको बाटो पनि खोल्छ।”
कार्यक्रममा आएका धेरै जेष्ठ नागरिकले यस प्रकारको सेवा पहिलो पटक पाएको अनुभव सुनाए। “पैसा त पाएकै थियौँ, तर आज स्वास्थ्य पनि जाँच भयो। अब प्रेसर बढी छ कि कम, थाहा पाइयो,” एक लाभग्राही वृद्धा गङ्गा तामाङले मुस्कुराउँदै भनिन ।
यसरी सामाजिक सुरक्षा भत्ता वितरणलाई सेवामूलक रूपमा विस्तार गरेर शिवपुरी गाउँपालिका–४ ले स्थानीय शासनप्रति विश्वास र आत्मीयता बढाउने कार्य गरेको छ।
यो कार्यक्रम अन्य पालिकाहरूका लागि पनि एक अनुकरणीय अभ्यास बन्न सक्नेछ।

