दुप्चेश्वरको कल्लेरी खोलामा पहिरोः समुन्द्रटार–राउतवेशी सडक पूर्ण अवरुद्ध



नुवाकोट,साउन ८ — दुप्चेश्वर गाउँपालिका अन्तर्गत पर्ने समुन्द्रटार–राउतवेशी–गोल्फूभन्ज्याङ सडकखण्डमा पर्ने कल्लेरी खोलाको भागमा माथिबाट आएको ठूलो पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

स्थानीय प्रशासनका अनुसार पहिरोले सडकको मुख्य भाग पुरिएको हुँदा हाल उक्त सडक खण्डबाट सवारी आवागमन र जनसञ्चार पूणरूपमा ठप्प भएको छ। स्थानीय बासिन्दा र यात्रुहरूलाई सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

दुप्चेश्वर गाउँपालिकाले पहिरो सम्बन्धमा आवश्यक जानकारी लिँदै सम्बन्धित प्राविधिक तथा निर्माण निकायसँग छलफल गरी तत्काल मार्ग सुचारु गर्ने तयारी भइरहेको जनाएको छ। गाउँपालिकाले भनेको छ — “सडक खुलाउन आवश्यक प्राविधिक टोली परिचालनको प्रक्रिया अघि बढिसकेको छ र छिट्टै आवागमन सहज हुनेछ।”

लगातारको वर्षासँगै आएको पहिरोका कारण पहाडी क्षेत्रका सडकहरू प्रभावित हुँदै आएका छन्। स्थानीय सरकार तथा सरोकारवाला निकायहरूले पहिरो सम्भावित स्थानहरूमा सतर्कता अपनाउन सर्वसाधारणलाई पुनः आग्रह गरेका छन्।

यसअघि पनि केही वर्षायाममा सोही क्षेत्रमा पहिरो जाँदा यातायातमा असहजता हुने गरेको थियो। यस पटकको पहिरोले थप समस्या नबढोस् भनेर पालिकाले अग्रिम सूचना दिँदै सावधानी अपनाउन भनेको हो।

प्रतिक्रिया दिनुहोस्