मधेश प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा



मधेश प्रदेश,साउन ८ । जनजीवन प्रभावित हुने गरी फैलिएको सुख्खाका कारण मधेश प्रदेशलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

प्रदेश सरकारको निर्णय अनुसार, असार २६ गतेको मन्त्रिपरिषद् बैठकले मधेशमा पानीको स्रोत तथा मुहानहरु सुक्दै गएको, खानेपानी तथा सिँचाइको गम्भीर समस्या देखिएको, साथै कृषि तथा जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको जनाउँदै यस्तो घोषणा गरिएको हो।

सरकारको निर्णयअनुसार, संयुक्त राष्ट्रसंघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (NGO/INGO) र रेडक्रस लगायतका संगठनहरुलाई मधेश केन्द्रित राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न समेत आग्रह गरिएको छ।

मधेश प्रदेशमा हालको सुख्खा अवस्थाले हजारौं मानिस प्रभावित भएका छन्। पानीको चरम अभावका कारण खेतमा सिँचाइ गर्न नपाएका किसानको अन्नबाली सुक्न थालेको छ भने गाउँगाउँमा खानेपानीका मुहानहरू सुकेर हिँडडुल गरेर पानी खोज्नुपर्ने अवस्था देखिएको छ।

सरकारले सबै सम्बन्धित निकाय, सुरक्षा संयन्त्र र स्थानीय तहसँग सहकार्य गरी सुख्खा प्रभावित क्षेत्रहरूमा तत्काल राहत, खानेपानी, सिँचाइ सुविधा तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक पहल सुरु गर्ने जनाएको छ।

मधेश प्रदेशमा सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाहरूमा सुख्खा असर विशेष गरी देखिएको छ।

सङ्कटको घडीमा सरकार, स्थानीय तह, संघसंस्था र नागरिक समाजले समन्वय गर्दै जनताको जीवनरक्षा र सहजताको सुनिश्चितता गर्नुपर्ने आवश्यकता थप गहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्