नुवाकोटको दुप्चेश्वरमा नक्कली नोट काण्ड: हजार  रुपैयाँका ९३ थान खोटा नोटसहित दुई जना पक्राउ



नुवाकोट,साउन ८ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा रुपैयाँ एक हजारका नक्कली नोटहरूसहित दुई जना व्यक्ति पक्राउ परेका छन्।

मंगलबार बेलुका दुप्चेश्वर गाउँपालिका–६, रामती बजारमा ३/४ जना बालकहरूले नक्कली नोट लिएर हिँडेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएर खोजतलास गर्दा ६९ थान खोटा नोटहरू फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट ती नक्कली नोटहरू दुप्चेश्वर–७ निवासी ४२ वर्षीय नरबहादुर तामाङ र भिमबहादुर तामाङले बनाएको खुलेको छ। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेका भिमबहादुर तामाङको घरमा थप २४ थान नक्कली नोटहरू बरामद गरिएको छ। यसै गरी प्रहरीले जम्मा ९३ थान रु. १००० का खोटा नोट बरामद गरेको हो।

नुवाकोट जिल्ला अदालतबाट २०८२ साउन ८ गते खोटा मुद्रा सम्बन्धी कसूरमा ७ दिनको म्याद थप लिई अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

खोटा नोट प्रकरणले बजारमा नक्कली नोटको सम्भावित सञ्जालको संकेत दिएको हुँदा सुरक्षा निकायले यसलाई गम्भीर रूपमा लिएर अनुसन्धानलाई अझ व्यापक बनाउने तयारी गरिरहेको बताइएको छ।

सार्वजनिक स्थानमा यस्ता अवैध क्रियाकलाप देखेमा प्रहरीलाई तत्काल खबर दिन समेत सुरक्षा निकायले आम नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्