नुवाकोटमा नक्कली नोटसहित दुई जना पक्राउ



नुवाकोट,साउन ९ । नुवाकोटमा प्रहरीले नक्कली नोटसहित दुई जनाको पक्राउ गरेको छ । नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त स्थानमा तीन-चार जना बालकहरुले नक्कली नोट लिई हिंडेका छन् भन्ने जानकारी प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोलीले खानतलासी गर्दा ६९ थान एक हजारको नेपाली नक्कली नोटहरु बरामद गरिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उक्त नोटबारे प्रारम्भिक अनुसन्धान गर्ने क्रममा दुप्चेश्वर गापा-७ बस्ने ४२ वर्षिय नरबहादुर तामाङ र सोही स्थानका भीमबहादुर तामाङले बनाएको भनेर खुल्न आएकोले उनीहरुलाई लगत्तै पक्राउ गरि हिरासतमा राखिएको डिएसपी लामाको भनाई छ ।

अनुसन्धानकै क्रममा पक्राउ परेकामध्ये भीमबहादुर तामाङको घरमा राखेको थप २४ थान एकहजार दरका नक्कली नोटहरु समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु दुवै जनालाई नुवाकोट जिल्ला अदालत विदुरबाट अनुसन्धान गर्न सात दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्