स्मार्ट लाइटले सहज बनायो ट्राफिक, ललितपुरमा प्रयोग सफल, काठमाडौं अझै अलपत्र



काठमाडौँ, साउन ९ — ललितपुरका जावलाखेल, पुलचोक, दमकलचोक, एकान्तकुना र भैँसेपाटी लगायतका व्यस्त चोकमा ट्राफिक प्रहरीले सिठी फुक्न र हात हल्लाउन छाडेका छन्। कारण हो — कृत्रिम बौद्धिकता (AI) मा आधारित ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ को प्रभावकारी प्रयोग।

सवारी चापअनुसार आफैं स्वचालित रुपमा रातो वा हरियो बत्ती बल्ने प्रविधिले ट्राफिक व्यवस्थापन सहज बनाएको छ। ट्राफिक प्रमुख सीताराम हाछेथुका अनुसार अहिले मन्त्री वा भिआइपी सवारी हुँदा पनि नियमअनुसार बत्तीमा रोकिने क्रम सुरु भएको छ। यस्ता लाइटले अधिकतम ३०–४० सेकेन्डमै टाइमिङ मिलाउँछ, जसले यात्रुहरूलाई लामो समय कुर्नुपर्दैन।

काठमाडौं अझै इसारामै भर

काठमाडौं उपत्यकाका ६७ चोकमध्ये २५ स्थानका ट्राफिक लाइटले काम गर्दैनन्। पुराना प्रविधिमा आधारित लाइट एउटै गतिमा चलेर अफिस समयजस्ता व्यस्त समयमा अस्तव्यस्तता ल्याउँछन्। यही कारण अधिकांश ठाउँमा ट्राफिक प्रहरी आफैँ सडकमा खटिनुपर्छ। उपत्यकामा दैनिक १,७०० ट्राफिक प्रहरी परिचालन हुन्छन्।

कार्ययोजना अलपत्र

दुई वर्षअघि सडक विभागले काठमाडौं उपत्यकाका मुख्य चोकमा AI ट्राफिक लाइट जडानको घोषणा गरे पनि कार्यान्वयन भएको छैन। काठमाडौं महानगरले विद्यालय वरपर ‘पुस बटन’ प्रणाली ल्याए पनि विस्तार हुन सकेको छैन। गत आर्थिक वर्षको २६ वटा चोकमा लाइट जडान योजना पनि कागजमै सीमित रह्यो।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले भने देशभर नयाँ ट्राफिक लाइट र मर्मतको गृहकार्य भइरहेको बताए। तर, जबसम्म प्रविधि प्रभावकारी रूपमा लागू हुँदैन, काठमाडौंको ट्राफिक व्यवस्थापन इसाराकै भर रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्