राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता
काठमाडौँ, साउन ९ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएका छन् । प्रमाणीकरणका लागि पेस भएको एक सातापछि पौडेलले संविधान, लोकतान्त्रिक अभ्यास, निर्णय प्रक्रिया लगायत पाँच विषयमा असहमति जनाउँदै विधेयक फिर्ता गरेका हुन् ।
विधेयकमा सदस्य रिक्त हुँदा दुई सदस्यको निर्णयलाई वैधानिक मान्ने व्यवस्था गरिएको थियो। राष्ट्रपति पौडेलले यो संविधानको धारा २८४ र लोकतान्त्रिक अभ्यास विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन् ।
विधेयक अब संशोधनसहित वा पूर्ववत् रूपमा पुनः संसद्ले पारित गरेमा राष्ट्रपति अनिवार्य प्रमाणीकरण गर्नुपर्नेछ।
यसअघि पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता र राहदानीसम्बन्धी विधेयक फिर्ता गरेका थिए । परिषद्सम्बन्धी विधेयक प्रतिनिधि सभाले २०८१ माघ २७ मा पारित गरेको थियो।

