साना हिमतालको वृद्धि : नेपालमा बाढीको जोखिम उच्च



काठमाडौँ, साउन ९ । नेपालका साना हिमतालको संख्या तीव्ररूपमा बढिरहेका कारण बाढी र जनधनको क्षतिको जोखिम उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन्।

काठमाडौँ विश्वविद्यालयका हिमनदी विज्ञ रिजनभक्त कायस्थका अनुसार साना तालको एकीकृत अध्ययन नहुँदा अप्रत्याशित रूपमा विस्फोट भई बाढी आउने सम्भावना बढेको हो। यसै वर्ष रसुवा, हुम्ला, मुस्ताङ लगायतका जिल्लामा यस्ता साना हिमताल फुटेर बाढी आएको बताइएको छ।

सन् २०२३ को अध्ययन अनुसार नेपालमा दुई हजार तीन सयभन्दा बढी साना हिमताल छन्, जसमध्ये एक हजारभन्दा बढी हिमनदीभित्र दबिएका छन्। यी ताल तापक्रमको सानो वृद्धिले विस्फोट हुने अवस्थामा छन्।

चीन र भारतसँगको सीमामा पनि हजारौँ हिमताल छन् भने कोशी, गण्डकी र महाकाली नदी मुहान क्षेत्रमा उच्च जोखिमयुक्त ताल फेला परेका छन्।

विशेषज्ञहरूले यस्तो दीर्घकालीन जोखिमलाई व्यवस्थापन गर्न निरन्तर अध्ययन, पूर्वसूचना प्रणाली र जिम्मेवार निकाय तोक्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्