टोखाबाट बरामद २५ करोडका मालिक ३५ लाख धरौटीमा रिहा



काठमाडौं,साउन ९ । टोखाबाट बरामद २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राका मालिक ठानिएका सिन्धुपाल्चोकका नारायण पौडेल ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले असार ३२ गते उनी उपस्थित भएपछि न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासमार्फत धरौटीमा छाड्ने आदेश दिएको हो ।

गत चैत ४ गते टोखाबाट फल्सबटम बनाइएको ट्रकमार्फत १३ लाख ७५ हजार युरो र ३ लाख २० हजार डलरसहित चालक कुशाङ लामा पक्राउ परेका थिए । राजश्व अनुसन्धान विभागले कुशाङलाई भरिया मात्र भएको भन्दै मालिक पौडेल रहेको निष्कर्ष निकालेको थियो ।

पौडेल फरार रहँदै मुद्दा दायर भए पनि पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका हुन् । चालक कुशाङ भने अझै पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्